साहित्य जगतका सम्पूर्ण विधाको संगालो
साहित्य जगतका सम्पूर्ण विधाको संगालो
यहाँहरुलाई हार्दिक स्वागत छ आँधिखोलाको सुसेलीमा ---------->>> ब्लग निर्माणाधीन अबस्थामा छ - नरेश रोकाहा --------->>>>> npliterature.blogspot.com
Home » » मुक्तकहरु

मुक्तकहरु


 आनन्द श्री नेपाली 



कमाएको साँचे पनि नेपाल भन्ने गर्छु
रोए पनि हाँसे पनि नेपाल भन्ने गर्छु
यहीँ जन्मेँ र त आज नेपाली हुँ हजुर
मरे पनि बाँचे पनि नेपाल भन्ने गर्छु ।



वारि र पारि पर्खालले छेक्यो गहिरो खाडलमा
म आफ्नो मुहार खोजेर हिडेँ त्यो कालो बादलमा
मुसुक्क तिमी मुस्कायौ किन लजालु नयनले ?
छोपेर कतै राख्यौ कि तिम्ले त्यो तिम्रो आँचलमा !
**********                **********


मन्दिरमा घण्टी बजाई पुजे जस्तो होईन जीवन
झरी पर्दा बलेसीमा रूझे जस्तो होईन जीवन
दुईले दुईलाई गुन्दा पनि कहिले काहीँ चार हुँदैन
पाठशालामा पढदाखेरि बुझे जस्तो होईन जीवन ।
**********                **********

छातीभित्र मनको कुरा लुकी हाल्दो रै'छ
बुझ्ने मान्छे नभए मन सुकी हाल्दो रै'छ
मान्छे न हो सबै कुरा कहाँ बुझ्न सक्छ
क्वै त होला बुझ्ने भनी ढुकी हाल्दो रै'छ ।
**********                **********


शहर बस्न गाउँका सबै बेच्यौ भन्ने सुनेँ
भाग्य खोज्दै हस्त रेखा मेट्यौ भन्ने सुनेँ
तिम्ले आफ्नै भाग्यलाई चिन्न नसकेर
फेरि अर्कै अभागीलाई भेट्यौ भन्ने सुनेँ ।
**********                **********

तिमी आँखामा राख मलाई म परेली ढुकेर बस्नेछु
तिमी मुटुमा राख मलाई म छातीमा लुकेर बस्नेछु
बाँणैले हान या डोरीले तान पानीको भेललै बगाऊ या त
म बगरमा ढुङ्गाको कापैमा खुर्लुम्मै सुकेर बस्नेछु ।
**********                **********


म बिना नि तिमी त्यहाँ बाँच्या'छौ रे सुन्दैछु म
दिनहुँ झैँ रोदिघरमा नाँच्या'छौ रे सुन्दैछु म
नयाँ-नयाँ मान्छे भेट्ने दिनचर्या नै छ रे तिम्रो
मलाई जस्तो सयौँ नाता गाँस्या'छौ रे सुन्दैछु म ।
**********                **********

देखाउनेभन्दा पनि लुकाउने धेरै भए
शिर उठाउनेभन्दा पनि झुकाउने धेरै भए
प्रमाण-पत्र बटुल्दैमा विव्दान बन्न सकिदैन
यौटै मुहान बाँडीचुँडी सुकाउने धेरै भए ।
**********                **********

लुटाहाको हुलमा पसी चोर्न जानिएन
सित्थैमा क्यै पाउँदा पनि सोर्न जानिएन
स्वाभिमानलाई बचाईराखेँ शिर उठाई सधैँ
हजुर भन्दै दुईहात कतै जोर्न जानिएन ।
**********                **********

तिम्रो मुस्कान मेरो लागि बाँच्ने आधार सानु
तिम्रो खुसी मेरो लागि हाँस्ने आधार सानु
हाँसी खुसी बाँच्न यौटै लगन गाँठो बाँध्यौ
जिन्दगीभर तिमीसँग नाँच्ने आधार सानु ।
**********                **********

हिजोभन्दा आज बढी खुल्दै आयौ तिमी
बगैँचाको गुलाफ झै फुल्दै आयौ तिमी
दिनमा भन्दा रातमा भेट्न मन लागेछ क्या रे
बाटो भुले जस्तै गरी डुल्दै आयौ तिमी ।
**********                **********

तिमी हाँस्दा बादल हटी घाम चर्किन्छ
रिसाऊ त कालो बादल फेरि फर्किन्छ
घाम र बादल तिम्रो हाँसो सँग सँगै हिड्छ
नबोल भो यसै ठीक छ, बादल गर्जिन्छ ।
**********                **********


कठोर-कठोर शव्द लेखी तर्साउन खोज्छौ
असिना झैँ तिखो प्रहार बर्साउन खोज्छौ
म हुँ तिम्रो अनुयायी भन्न किन छाड्थ्यौ
सानो बन्दै ठूलो भन्ने दर्शाउन खोज्छौ ।
**********                **********

चौतारीको शितलतामा आशा राख्दै बसेँ हिजो
जाने जति लेख्छु भन्दै आफूलाई कसेँ हिजो
धेरै फल फलेपछि टुप्पोले भूइँ छुँदो रै'छ
रूखले मलाई हानेपछि आकाशबाट खसेँ हिजो ।
**********                **********

जिन्दगी यो यात्रा बनोस् कसैको नि नासो नहोस्
ओकल्नु कि निल्नु जस्तो कसैलाई नि पासो नहोस्
च्यातिन्छ र फाट्छ जीवन टाल्नु पर्ने आफैले हो
रूँदै जीवन बीच सडकमा कसैको नि हाँसो नहोस् ।
**********                **********


शहरमा बसेपछि माटो बिर्सिएँ
आफ्नै घर फर्कि जाने बाटो बिर्सिएँ
भिजेका ती गरा कान्ला अझै सुक्या छैन
शहिदको रगतको टाटो बिर्सिएँ ।
**********                **********


देशको विकास धेरै भयो मन्द भए हुन्छ ?
एकवर्षमा वर्ष दिन नै बन्द भए हुन्छ ?
तिमीसँग जवाफ भए सुनाउ मलाई पनि
शान्त हुन यो देश कति खण्ड भए हुन्छ ?
**********                **********

खेत लग्यो त के भयो आली बाँकी छ
छानै लग्यो त के भयो पाली बाँकी छ
लानै पर्ने यहीँ पर्यो नलानेलाई लगी छाड्यो
खोला नाला सबै लग्यो नाली बाँकी छ ।
**********                **********


बसन्तमा फेरि पनि फुल्न मन छ मलाई
घोचोस् बरू बगैँचामा डुल्न मन छ मलाई
माया गर्दा तिम्ले भुल्यौ भन्छौ भने प्रिया !
जिन्दगीमा हजार पटक भुल्न मन छ मलाई ।
**********                **********

मायाले त जहाँ - जहाँ ढल्काए नि आफ्नै
खस्रै राखोस् या त उनले टल्काए नि आफ्नै
तितो मीठो जे बोले नि मीठै लाग्ने रै'छ
मीठो मीठो चुम्बन गरी पल्काए नि आफ्नै ।
Share this article :
 
Support : | Johny Template | Copyright © 2011. आँधीखोलाको सुसेली - All Rights Reserved
Template Modify by | नरेश रोकाहा |
Proudly powered by Blogger
Design Downloaded from free Blogger templates | free website templates | Seodesign.us | Funny Sport Videos.