Deepak Jadit
कृषि विकाश बैंकको जागीरबाट सेवा निवृत्त भएपछि गोविन्दराज खुब फुर्सदिला भएका थिए । गाउँदेखि बजारसम्मका प्राय चियापसलहरुमा धाक धक्कुका ठुल्ठुला गफ जोतेर हिंड्थे । अरुको खिसी टेउरी गर्न, अरुलाई उचालेर झगडा लगाउन र हुँदो नहुँदो कुरामा अरुलाई उल्क्याएर बिगार्न झन माहिर थिए ।
एक विहान गोविन्दराज आँगनमा बसेर चिया पिउँदै गम खाँदैथिए, 'आज कुन चिया पसलतिर लाग्ने? कस्लाई उल्क्याउने? कस्लाई भिडाउने? हिँजो उल्क्याएर पठाएको फलानो आज आउला कि नआउला?'
अचानक उनको ध्यान आँगनले तान्यो । मनपरी झारहरु जताततै उम्रिएको । रुखका पातपतिङ्गर र हाँगाविँगाहरुले आँगन छोपेको देखेर उनि मनमनै जँगिए, 'थुक्क!, म दुनियाँभरीको खिसी र टेउरी गर्दै हिँड्छु । हेर मेरै आँगनको यो गति?' आफ्नै आँगनले आज उनलाई खिसी टेउरी गरेको भान पर्यो ।
'होइन, अलिक त हेर्न लाएक बनाउनुपर्यो यो आँगनलाई ।' तत्काल नै गोविन्दराज आँगनको सरसफाईमा जुटे । केहि झारपात उखेले । बढारेर पातपतिङ्गर छेउ लगाए र सोचे, 'एकाविहानै एत्रो काम गरेको त आजै फस्चोटी हो क्यारे जिन्दगीमा ।' जागीरे जीवनकालमा सकेसम्म आफ्नो काम पनि अर्कालाई अह्राएर हाकिम पल्टिएका गोविन्दराजलाई आँगनको सरसफाई गर्ने काम दिग्दारिलो लाग्यो । अझ आँगन सजाउने त कल्पनै गर्न सकेनन् । बरु उनले मनमनै बहाना झिके, 'आ! होइराखोस् । जति सफागरे नि म मरेको दिन यै आँगनले मेरो लाशमाथि तमाशा लगाउने हो क्यारे ।' सरसफाईको झोंक त्यहिं छोडेर उनि चियापसलतिर हिँडे गफ लडाउन ।
तर एकाविहानै उनको मनमा फरक विचार आएझैं उनको दैनिकीमा पनि फरक घट्नाक्रम आयो । चिया पसलमा पुग्नासाथै उनले थाहा पाए अर्को गाउँमा बस्ने उनका दामले मित्र आजराती अचानक बितेछन् । रित्तो चिया पसलको शून्यता जस्तै यो खबरले बनाएको शून्य मन लिएर उनि त्यतै लागे ।
'आफुसँगैका दामले साथीभाई हिंड्न थाले, अब आफुपनि यसैगरी पुक्लुक्क हुन के बेर? हैन फेरि आजै ब्यानब्यानै कस्तो विचार उठेथ्यो मनमा? म मरें भने आँगनमा तमाशा लाग्छ भन्ने कसरी सोचें होला मैले?' मृत्युको भयले गोविन्दराज भित्रैदेखि थर्कमान भए र मनमनै भने, 'हे भग्वान यो मनमा उठेको म मर्ने विचार यै साथीको मृत्युमा टरेर जावोस् ।'
गोविन्दराज मित्रको आँगनमा पुग्दा मानिसहरुको ठुलो हुल जम्मा भैसकेको थियो । रुने कराउनेहरुको कोकोहोलो थियो । मृतकको गुण अवगुणको चर्चा गर्नेहरु थिए । उनले नचाहँदा नचाहँदै त्याहाँ पनि उनको मनले आज विहानै उठेको विचार दोहोर्याउँदै भन्यो, 'हो, म मरेका दिन मेरो आँगनले पनि यसैगरेर तमाशा लगाउने छ ।'
उनले दुखपूर्ण एक नजर मृतक मित्रको आँगन वरिपरी डुलाए । आँगन चटक्क परेको सफासुघ्घर थियो । चारैतिर सुन्दर पारेर फूलबारी बनाइएको थियो । फूलहरु अपार सौंदर्य छर्दै यस्तरी फुलिरहेका थिए मानौं तिनमा आँगन धनीको मृत्युको आभाष बन्दै छैन । आँगनको सौंदर्यले गोविन्दराजले एकैछिन यो पनि भुले कि उनि मित्रको मृत्यु उभिएको आँगनमा उभिएका छन् । र मृत्यु शोकको चित्कार उनको कानबाट ह्रदयसम्म पसिरहेको छ ।
गोविन्दराज मित्रको मृत्युशोकमा शरिक भए तर उनको मनले भने भित्र अठोट गर्दैथियो, 'आँगन चैं सुन्दर पार्नै पर्ने रहेछ । कमसेकम मृत्युको तमाशा हेर्न आउनेलाई एकैछिन भएपनि सुन्दर आँगनले मृत्युको भय कम गराउने रहेछ । लाखेस् अब मेरो आँगनलाई ।'
***
..गृह पृष्ठ