गजल - डालीबाट नझरेरै ओईलिए छु म

आनन्द श्री नेपाली 

आनन्द श्री नेपाली 

डालीबाट नझरेरै ओईलिए छु म
उनले माया नगरेरै ओईलिए छु म

बाढी हेर्दै वारि बसेँ तर्नै गाह्रो भो
त्यही बाढी नतरेरै ओईलिए छु म


नरम नरम यी अंगका बयान सुन्दै'थें
सुगन्ध क्यै नछरेरै ओईलिए छु म !

जुन हाँगामा फूलेँ सधैँ त्यहीँ रमाएँ
गुलाफ जस्तो नसरेरै ओईलिए छु म

म फुल्दा त बोटै फुल्यो, मर्यो त्यही साल
बोट मर्दा नि नमरेरै ओईलिए छु म

मर्नु पर्ने 'आनन्द'को रहर पलायो
मनको घैलो नभरेरै ओईलिए छु म ।